काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण जटिल बन्दै गएकाले बिरामीको उपचारका लागि एक हजार बेड थप्ने भएको छ । यसका साथै सरकारले मुलुकमा संक्रमण बढे पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनासम्वन्धी परीक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पार्नुभएको छ । मन्त्रालयमा शनिबार आकस्मिक बैठकपछि मन्त्री त्रिपाठीले उपत्यकामा १ हजार शैय्या थप गरिने जानकारी दिनुभयो ।
सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि जानकारी दिनुभयो ।
एक साताभित्र काठमाडौं उपत्यकामा ७ हजार शैय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएकोप्रति सरकार गम्भीर रहेको बताउनुहुँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।