काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आन्तरिक उडान रोक्न सिफारिस गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित सीसीएमसीले केही समयका लागि आन्तरिक उडानहरु रोक्न सिफारिस गरेको हो ।
यसका साथै सीसीएमसीले कोरोनाबाट अति प्रभावित मुलुकसँगको हवाई सम्पर्कसमेत बन्द गर्न सिफारिस गरेको छ । भारत, टर्कीलगायतबाट आउने उडानबाट उच्च जोखिम भएका कारण ती देशबाट आउने उडान रोक्न सिफारिस गरिएको हो ।
‘सीसीएमसीले कोरोना महामारीका कारण उच्च जोखिममा रहेका मुलुकसँग तत्कालका लागि हवाई उडान रोक्न सिफारिस गरेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, ‘त्यसैगरी, आन्तरिक उडान पनि केही समयका लागि स्थगित गर्न सिफारिस गरिएको छ ।’ सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । उहाँका अनुसार सीसीएमसीले मिति भने तोकेको छैन ।
टिकट आदिको व्यावहारिक पक्षलाई हेरेर एक–दुई दिनको समय राखेर कार्यान्वयन गर्ने निर्णय हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।
कुन कुन मुलुकहरु उच्च जोखिममा रहेका छन् भन्नेलगायतका पक्षमा स्वास्थ्य मन्त्रालयले तयार पार्ने विस्तृत प्रस्तावका आधारमा निर्णय लिइने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
सीसीएमसीले हाल अस्पतालमा अक्सिजनलगायतका अत्यावश्यक सामग्रीहरुको अभाव भएको सम्बन्धमा समेत केही महत्वपूर्ण निर्णय गरेको छ ।
अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्तिलगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि सीसीएमसीले निर्णय गरी सरकारलाई सिफारिस गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।