काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देखिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकै दिन ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो । योसँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएका छन् ।
यस्तै ५ सय ५५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांक छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























