नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।
कोरोना भाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
योसँगै अहिलेसम्म देशभर कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/एएनआई)