काठमाडौं । आज परेको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले हाल श्रमिकले पाउँदै आएको न्यूनतम १३ हजार चार सय ४० रुपैयाँलाई बढाएर १५ हजार पु-याउने बताउनुभएको हो । उहाँले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पु-याउने प्रतिबद्धता जनाउनुभयो ।
वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाका लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता आदिको व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । ‘औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ,’ उहाँको शुभकामना सन्देशमा भनिएको छ।
सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको बताउनुभएको छ । एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आमनेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । ‘अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ पु-याका छौँ । महामारीपछि अस्पतालहरुमा शय्या ३८.४ प्रतिशत थप गरिएको छ।’ यस वर्ष ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएको स्मरण गर्नुहुँदै उहाँले अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।
त्यसैगरी नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको, श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।