काठमाडौं । विश्रव्यापी रूपमा फैलिएको कोरोना भाइरसले यतिबेला नेपाल पनि आक्रान्त बनिरहेको छ । नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या तीव्रगतिमा बढिरहेको छ । हजारौँको संख्यामा रहेका संक्रमितले अस्पताल भरिभराउ हुन थालेपछि बिरामीहरु अस्पतालदेखि नै डर मान्न थालेका छन् । रोगको चेकजाँच गर्न जाँदा संक्रमण नभए सर्ने भयले बिरामीहरु होमआइसोलेसनमा बस्न बाध्य छन् ।
कोरोना संक्रमणबाट पीडित घरमै बसेका संक्रमितहरुले के-के कार्य गर्न हुन्छ के गर्न हुँदैन भन्नेबारे डा. रविन्द्र पाण्डेले तल केही सुझाव दिनुभएको छ ।
क) थर्मोमिटरबाट शरीरको तापक्रम नापिरहनु होला । ९८– ९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । १०० डिग्री पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
ख) पल्सअक्सिमिटर (शरीरमा अक्सिजनको मात्रा नाप्ने मेशिन) बाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलीगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
ग) भिटामिन ‘सी’ २ पटक, जिंक २ पटक, भिटामिन ‘डी’ हप्ताको १ पटक खानुहोला । आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।
घ) अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नु होला । यो नयाँ भेरियन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्सरे वा सिटिस्क्यान गरेर फोक्सोको अवस्थाअनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरलर एन्टिबायोटिक) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।
ङ) जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिसअनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।
च) एक रातमै अवस्था क्रिटिकल हुन सक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाइँले कुनै न कुनै उपचार पाउनुहुन्छ ।
छ) अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
ज) मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटक-पटक खानुहोला ।
झ) घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।
ञ) घरको खानाका अतिरिक्त फलफूल, दूध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।
ट) पानीको बाफ लिँदा आराम हुन्छ।
ठ) रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।
ड) हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।
ढ) आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुहोला। नआत्तिनु होला ।
ण) दिनमा १–२ पटकमात्र समाचार हेर्नुहोला । सामाजिक सञ्जाल नहेर्नु होला । अनधिकृत समाचारले तनाव बढाउँछ।
त) गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला । त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।