काठमाडौं । नेपालमा कोरोनाको महामारी तीव्ररुपमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा कोरोना संक्रमण भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितमध्ये ३३१ जना आईसीयू र ११५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै विगत २४ घन्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।
उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।