काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न यथाशीघ्र प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य गर्नुपर्ने धारणा राख्नुभएको छ ।
मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुद्घाटन गर्दै प्रधानमन्त्री ओली यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सो प्रतिष्ठानको २९ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको शीलास्तम्भ अनावरणसमेत गर्नुभयो ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालका प्रत्येक नागरिकलाई जीवनोपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागिपरेको बताउनुभयो । शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैँ समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति, समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पु-याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागिरहेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले विगत दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिँदै आएको छ । हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत् व्यावसायिक तालिम पाइसकेका छन् । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो ।
कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायताअन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्राविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानले राखेको छ । नवनिर्मित भवनमा ई–पुस्तकालयसमेतको व्यवस्था गरिएको छ ।