काठमाडौं । तत्काल नयाँ सरकार गठन गर्ने अवस्था नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । उहाँले पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक संख्या नपुगेको बताउनुभयो ।
आफ्नै निवास बुढानीलकण्ठमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले तत्काल नयाँ सरकार नबन्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गरेको छ । तर संख्या पुगेकै छैन, संख्या नपुगेसम्म नयाँ सरकार गठन गर्न सकिँदैन । ’
पत्रकार सम्मेलनमा देउवाले तत्काल सरकार निर्माण सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूहरुसँग सरकार बनाउन आवश्यक नभएकाले अहिले नै नयाँ सरकार गठनका लागि हतार गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले जनता समाजवादी पार्टी (जसपा) ले सरकारबारे निर्णय नगरी नयाँ सरकार गठन गर्न कठिन हुने धारणा व्यक्त गर्नुभयो ।
शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी सभापति देउवाले कोरोना संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको बताउनु भएको छ ।
सरकारले विगतको गल्तीहरुबाट सिक्न नसकेर यो अवस्था आएको आरोप लगाउनु भएको छ ।
सरकारले लकडाउन गर्ने निर्णय गरेपछि पनि परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने उहाँले बताउनु भएको छ ।
सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न माग गर्नु भएको छ ।