काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबै नागरिकको साझा कर्तव्य भएको बताउनुभएको छ ।
उहाँले यस विषम परिस्थितिमा सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताउनुभयो । अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न भएको बताउनुभयो । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाका लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गर्नुभयो । अहिले जनता आफैं पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताउनुभयो । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भुमिका निर्वाह गरेको हुँदा आमनागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि अनुरोध गर्नुभयो ।