काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारीसाधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जानेआउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत् त्यस्ता कार्यमा यात्रा गर्दा कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराउनुभएको छ ।
साथै उहाँले अन्य अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराउनुभएको छ ।