काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू गरिएको थियो ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि ‘लकडाउन’ जारी गरेका हुन् ।
निषेधाज्ञालाई कडाइसाथ लागू गर्न बिहानैदेखि प्रहरी सक्रिय भएको छ । त्यसका लागि उपत्यकाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । विभिन्न ठाउँहरुमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन् ।
काठमाडौंका ४४, ललितपुरका ८ र भक्तपुरका ४ स्थानमा चेकजाँच भइरहेको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी गराउनुभयो ।
निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको प्रहरी प्रशासनले जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन सञ्चालन गर्ने र बिनाकाम सडकमा हिँड्ने सर्वसाधारणलाई प्रहरीले कारबाही गरिरहेको छ ।
प्रहरीका अनुसार निधेषाज्ञा अवज्ञा गर्ने ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसकेका छन् ।
काठमाडौंमा २ सय ९ जना, ललितपुरमा २ सय १७ र भक्तपुरमा १ सय ७ जनालाई सडकमै केहीबेर उभ्याएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै १७७ दुईपांग्रे र ४१ वटा चारपांग्रे सवारीसाधनलाई पनि प्रहरीले निन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।