काठमाडौँ । कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आईसीयूमा सारिएको छ । शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।
पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वरानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उहाँले भन्नुभयो । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ ।
उहाँकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।