काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेको भनी गरिएको प्रचारप्रसार निराधार, गलत र भ्रमपूर्ण भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे प्रष्ट पार्दै कतिपय सञ्चारमाध्यमले भ्रमपूर्ण तथा नियोजित रुपमा तथ्यहीन सूचना सम्प्रेषण गरेर भ्रम फैलाएको बताउनुभएको छ ।
समाचारबारे स्पष्टरुपमा नबुझी हवुवाका भरमा भेरिफाइ नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सबैको ध्यानाकर्षण गर्नुभएको छ । उहाँले सञ्चारमाध्यमका आवरणमा गलत प्रचार गर्नु सदैव खेदजनक भएको बताउनुभयो ।
नेकपा एमालेका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कतिपय सञ्चारमाध्यमले प्रधानमन्त्री आइसोलेसनमा बसेको समाचार सम्प्रेषण गरेका थिए । प्रधानमन्त्री आइसोलेसनमा नरहेको प्रमाण सार्वजनिक गर्दै मुख्य सल्लाहकार विष्णु रिमालले भेटघाटमै रहेको तस्बिर समेत सार्वजनिक गर्नुभएको छ ।