काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिने निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाको सुरुको दिन उपत्यकाका सडक सुनसान देखिन्छन् । सडक क्षेत्रका पसलहरू खुलेका देखिँदैनन् ।

सडकका चोकचोकमा बसेका सुरक्षाकर्मीहरुले आवतजावत गर्ने केही व्यक्तिहरुको परिचयपत्र जाँचमा कडाइ गरेका छन् । सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि केही ठाउँहरुका नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि भएको छ । बुधबार बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि उपत्यका भित्रिने नाकाहरूमा चाप बढेको छ ।
निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइए पनि अत्यावश्यकीय सवारीसाधन भने केहीमात्रमा चलेका छन् । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको बाक्लो उपस्थिति रहेको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँहरुमा नियमित चेक प्वाइन्ट स्थापना गरेको छ । निषेधाज्ञा पालना गराउनकै लागि उपत्यकामा ३ हजार ५ सय जति प्रहरी खटाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्ने नियम लागू गरिएको छ । प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा डोरी टाँगेर होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छन् । अत्यावश्यक सेवा र अनुमतिवाहकबाहेकका सवारी र पैदलै मानिसको आवागमन भए नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्न तीनवटै प्रशासनले प्रहरी र सशस्त्रलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूको निर्णयअनुसार सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि ‘लकडाउन’ गरिएको हो ।




























