काठमाडौँ । बुधबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।
बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरुसमेतमा कोरोना पोजिटिभ देखिएको मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।