काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई बजबुत बनाउन दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा राखेका छन् । गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा एक दिनअघि उनीहरुलाई रिसोर्टमा राखिएको हो ।
गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले आफ्ना सांसदलाई रिसोर्टमा राखेका हुन् ।
सांसदहरु छुट्टाछुट्टै रहँदा विपक्षीले चलखेल गर्न सक्ने सम्भावना बढेको भन्दै आफ्ना सांसदलाई होटलमा राखिएको एक नेताले जानकारी दिनुभयो । बाहिर रहँदा विपक्षीले चलखेल गरेर फ्लोर क्रस हुने सम्भवना बढेको भन्दै आफ्ना सांसदलाई एकै ठाउँमा राखिएको उहाँले बताउनुभयो ।
रिसोर्टमा बसेका प्रदेश सांसदहरु मंगलबार दिउँसोको प्रदेशसभाको बैठकमा सहभागी भएपछि पुनः रिसोर्टमै फर्किने एक सांसदले बताउनुभयो ।
गण्डकी प्रदेशमा विपक्षी दलहरुका एक सांसदले मात्रै फ्लोर क्रस गरेमा अविश्वासको प्रस्ताव पारित हुन सक्दैन।
कांग्रेस र माओवादीका सांसदलाई लेकसाइडको कुटी रिसोर्टमा राखिएको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताउनुभयो ।
जसपा र जनमोर्चाका सांसदहरुलाई छुट्टै ठाउँमा राखिएको जसपा सांसद हरिशरण आचार्यले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव विशेष अधिवेशनको पहिलो दिन सोमबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले पेश गर्नुभएको थियो ।
६० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पास हुन ३१ मतको आवश्यकता पर्छ । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेर वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।