काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सोमबारको मन्त्रिपरिषद् बैठकले उपत्यकालगायत कोरोनाबाट अति प्रभावित ९ जिल्लामा १५ दिने निषेधाज्ञा लगाएसँगै आ-आफ्नो घर फर्कनेहरुको लर्को लागेको छ ।
कलंकी, बालाजु, कोटेश्वरलगायतका स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको बाक्लो भीड लागेको छ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर लम्किरहेका देखिन्छन् ।
ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईले पछिल्लो २४ घन्टामा हजारौँ यात्रुहरु आ-आफ्नो घरतर्फ जान हत्तारिँदै गाडी चढेको बताउनुभयो ।
गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुन सक्ने आशंकामा पढ्न र काम गर्न उपत्यका आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिँदै गरेका छन् ।
गत वर्ष जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिँडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएकाले पनि यात्रुहरु आफ्नो घरतर्फ गएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले गत वर्ष जस्तो यात्रुहरुलाई समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।