काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित तीव्र गतिमा कोरोना संक्रमण बढेका ९ जिल्लामा १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका ९ जिल्लामा १५ दिने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिने निषेधाज्ञा जारी गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार १५ दिने हुनेछ ।
जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको र अब यही निर्णय जिल्ला प्रशासनले पालना गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । संक्रमण तीव्र भएपछि काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिनेछ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको भोलिपल्टै उपत्यकामा निषेधाज्ञाको घोषणा गरिएको हो । योसँगै दोस्रो लहरको संक्रमणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ ।
सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या दुई सय नाघेका जिल्लामा सकभर लकडाउन र त्यो नभए निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय संक्रमित पुगेका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाउने निर्णय पनि गरेको छ । सबै विद्यालयहरू बन्द गर्ने र परीक्षाहरू स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
दोस्रो लहरको संक्रमण रोक्न पछिल्लो निषेधाज्ञाले सहयोग पुग्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । प्रशासनको आदेश कार्यान्वयनका लागि राजधानीमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
निषेधाज्ञा जारी हुनुअघि दिनभर उपत्यकाका तीनवटै प्रशासनको संयुक्त बैठक बसी साझा निर्णयको मस्यौदा तयार पारिएको थियो । संघीय राजधानी भएका कारण निषेधाज्ञाको निर्णयअघि मन्त्रालयसँग समन्वय र परामर्श गरिएको थियो । निषेधाज्ञा सोमबार जारी भए पनि राजधानीमा कर्मथलो बनाएकालाई स्थायी थातथलो फर्कन चाहेमा जान केही दिन समय उपलब्ध गराउने उद्देश्यले बिहीबारबाट मात्रै निषेधाज्ञा गरिएको हो ।
जारी निषेधाज्ञाअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका व्यवसायलाई बन्द गरिनेछ । खाद्य सामग्री किनबेचका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्रै बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसका लागि सरकारले तोकेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने सरकारले गरेको निर्णयमा उल्लेख गरिएको छ ।