काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका निर्णयलाई पारित गरेको छ।
सीसीएमसीले सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।
सहरी क्षेत्रमा ५ सय संक्रमित र पहाडी जिल्लामा २ सय संक्रमित नाघेपछि निषेधाज्ञा लगाउन सकिने सीसीएमसीको निर्णय थियो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले बताउनुभयो ।
जसअनुसार बिहीबारदेखि लागू हुनेगरी उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।
त्यसैगरी बैठकले सीसीएमसीको सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ।
सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको बैठकमा सहभागी एक मन्त्रीले बताउनुभयो ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइनमा राख्नेलगायतका निर्णय पनि भएको बताइएको छ ।
त्यसैगरी आजको बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ ।
आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।