काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुने भएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेश हुने कार्यसूची राखिएको छ ।
कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्ने कार्यक्रम रहेको छ । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्ने समय राखिएको छ । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफलपछि मतदान हुने जनाइएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाउनुभएको हो । अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
सो प्रस्तावमा २८ जनाको हस्ताक्षर रहेको छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दलले गरेको छ ।
२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा पर्नुभएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पु-याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।