काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका तीन हजार १ एक सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको छ भने ७८६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।
त्यसैगरी नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २८ जना सङ्क्रमितको मृत्युको भएको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमितको संख्या अधिक भएसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।
जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।
योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीनजनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो, ‘सीसीएमसीको सिफारिसअनुसार के गर्ने पहिले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्छौं, त्यसपछि निषेधाज्ञाबारे निर्णय हुन्छ ।’ उहाँका अनुसार सोमबारै तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कोरोना भाइरस महामारीको अवस्था जटिल बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कडाइ गर्नुको विकल्प देखिएन, के गर्ने भन्नेबारे छलफल गर्छौं ।’
उपत्यकाका तीनवटै जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।