काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको छ ।
धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नुभएको हो । उहाँले धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ बालकोनी पुग्नुभएको थियो । त्यहाँबाट उहाँले काठमाडौं उपत्यकाको दृश्यावलोकन समेत गर्नुभयो । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टिसमेत गर्नुभयो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएको थियो ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिनुभएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उद्घाटन गरिए पनि पुनर्निर्माणको सबै काम सम्पन्न नभइसकेकाले अहिले नै धरहरा अवलोकन गर्न जान भने पाइने छैन ।
धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजनासमेत रहेको जानकारी प्राधिकरणका सचिव गेलाल दिनुभएको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।
महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाउनुभएको थियो । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले पुनर्निर्माण गर्नुभएको थियो ।
२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै समय लाग्ने प्राधिकरणले जनाएको छ ।