काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी समिति विस्तार गर्नुभएको छ । उहाँले पार्टी अनुशासनविपरीत गतिविधि गर्ने नेता माधवकुमार नेपाल पक्षलाई हटाएर नयाँ स्थायी समिति गठन गर्नुभएको हो । पार्टीको महाधिवेशन आयोजक समितिको शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको हो।
अध्यक्ष ओलीले गठन गरेको सो समितिमा पार्टीको हितविपरीत विभिन्न गुटगत भेला गर्ने नेता माधवकुमार नेपालसहित नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई हटाइएको छ।
यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवादमा स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिएको छ। त्यसैगरी नेपाल पक्षमा रहेका नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटाइएको छ ।
एमालेको नयाँ स्थायी समितिमा नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह र मणि थापालाई थपिएको छ ।
त्यसैगरी, माओवादीसँग एकीकरण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ ।
यसैगरी बैठकले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।