काठमाडौँ । टोखा नगरपालिकामा ‘वडास्तरीय बालअधिकार समिति’ गठन गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले बालमैत्री नगरपालिका बनाउनका लागि वडास्तरमा बालअधिकार समिति गठन गरेको हो ।
नगरपालिका उपप्रमुख ज्ञानमाया डङ्गोलको अध्यक्षतामा रहेको उक्त समितिले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै बालमैत्री नगरपालिका निर्माणमा काम गरिरहेको छ । टोखाले बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको हो ।
नगरपालिकाका सबै वडामा वैशाख महीनाभित्र वडास्तरीय बालअधिकार समिति गठन गरिसक्ने उपप्रमुख डङ्गोलले बताउनुभयो । नगरपालिकामा ११ वडा रहेका छन् । यस्तै उपप्रमुख डङ्गोलको संयोजकत्वमा नगरपालिकास्तरीय बालअधिकार समितिसमेत गठन गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका सबै बालबालिकाको हकअधिकार सुनिश्चित गर्नका लागि समिति निर्माण गरिएको हो । टोखाले बालमैत्री स्थानीय शासन घोषणाका लागि भएका ३९ वटा सूचकमध्ये अधिकांश सूचक पूरा गरिसकेको र बाँकी सूचक पूरा गर्नका लागि तदारुकताका साथ काम गरिरहेको उपप्रमुख डङ्गोलको भनाइ थियो ।