काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज दोस्रो दिनको वार्ता सकिएको छ । पार्टीलाई एकतावद्ध राख्ने विषयमा उहाँहरुबीच कुराकानी भएपनि ठोस निष्कर्ष भने निस्किएको छैन ।
राजधानीको एक होटलमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको थियो । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । तर नेता नेपालले पत्रकारहरुले वार्ताबारे प्रतिक्रिया माग्दा बोल्नुपर्ने प्रगति नभएको मात्रै बताउनु भएको छ ।
वार्ता अघि होटलको झ्यालबाट अध्यक्ष ओली र नेता नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु भएको थियो ।
बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गर्नु भएका अध्यक्ष ओली र नेपालबीच आज पनि सोही स्थानमा एक्लाएक्लै भेटवार्ता भएको हो ।
नेता माधव नेपालले एमालेबाट अलग हुने प्रयासका स्वरुप समानान्तर कमिटी बनाउँदै जिल्लाजिल्लामा कार्यालयहरु खेल्न थालेपछि नेता, कार्यकर्ताहरु चिन्तित भएका छन् । नेता नेपाल समूहले आफ्ना गतिविधिहरु पार्टी एकताका लागि भन्ने दावी गरेको प्रति कार्यकर्ताहरुले प्रश्न गर्दै भनेका छन् माओवादीसँग कि अरु कसैसँग ? लामो समयपछि नेताहरुबीच भएको भेटवार्तालाई नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुले सकारात्मक रुपमा लिएका छन् ।