काठमाडौं । नेकपा एमालेको बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास समारोहमा उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्री, नेताहरुलगायतको उपस्थिति रहेको थियो ।
१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको छ ।
२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन हुँदै आएको थियो । चक्रपथ निर्माण कार्यले पार्टी कार्यालय आवतजावतमा समस्या भएपनि आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सञ्चालन हुने गरी उद्घाटन गरिएको छ ।
नयाँ भवन नबन्दासम्म थापाथलीस्थित कार्यालयबाट पार्टी सञ्चालन हुने बताइएको छ ।