काठमाडौँ । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।
अर्थमन्त्री विष्णु पौडेलसहितको वार्तामा पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको बताइएको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।
एमाले र माओवादी मिलेर नेकपा बनेदेखि नै पुष्पकमल दाहालसँग नजिक हुँदै पार्टीभित्र चलखेल गर्दै आएका नेता नेपाल पुस ५ पछि भने घोषित रुपमा अध्यक्ष ओलीका विरुद्धमा लाग्नु भएको थियो ।
पुष्पकमल दाहाल भन्दा तल्लो स्तरमा उत्रिएर अध्यक्ष अोलीमाथि अराजनीतिक भाषण गर्दै नेता नेपाल समूहले पछिल्ला दिनहरुमा पार्टीका समानान्तर कमिटी वनाउँदै बनाउँदै आएको छ । फागुन २३ गते सर्वोच्च अदालतले पूर्व एमाले र पूर्व माओवादीलाई अलग गराइदिए पछि पनि नेता नेपाल अध्यक्ष ओलीसँग भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग निकट हुँदै आएका छन् । दाहालकै सल्लाहसुझाव अनुसार उनी अघि बढ्दै आएका छन् । एमालेले उनलाई पार्टी हितविपरित गतिविधि गरेपछि त्यस्ता कार्य रोक्न आग्रह गरेको थियो । तर उनले नरोकेपछि पार्टीले उनी लगायतका चार जना नेताहरुलाई ६ महिनाका लागि निलम्वन गरेको छ । सो अवधिमा पनि नसच्चिए पार्टीले कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।
तर माधव नेपाल गुटले पार्टीको निर्देशन विपरित गतिविधि गर्नुका साथै कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गरेर पार्टीप्रति घात गरेपछि अध्यक्ष तथा संसदीय दलका नेता ओलीले संघीय र प्रदेश सदस्य गरी ३२ जनालाई स्पष्टिकरण सोध्नु भएको थियो । उनीहरुको जवाफ चित्तबुझ्दो नआएमा वा पार्टी हितविपरित गतिविधि गरेमा सांसद पदबाट नै हटाउने तयारी भएको थियो । नेपाल समूहले सम्भावित कारवाहीबाट बच्न सर्वोच्च अदालतमा निवेदन दिन आज गएका थिए । तर निवेदन दर्ता नभएपछि नेता नेपालले आज अध्यक्ष अोलीसँग भेटवार्ता गरेका हुन । यसअघि उनले आफ्ना निकट नेता योगेश भट्टराईमार्फत अध्यक्ष ओलीलाई भेटवार्ता गर्नका लागि सन्देश पठाएका थिए ।