काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको ज्यानमुद्दा सर्वोच्च अदालतमा आज पनि हेर्न नभ्याइनेमा परेको छ ।
यसअघि पनि सो मुद्दा पटक– पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।
द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि भएको हत्यामा सापकोटालाई प्रमुख दोषी बनाएर उनीविरुद्द मुद्दा दर्ता भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको सो मुद्दा बुधबार पनि फेरि सुनुवाइ सरेको छ । योसहित १२औं पटक पेसीमा चढ्दै सुनुवाइ सरेको स-यै छ।
पहिलो पटक यो मुद्दा २०७२ सालको चैत २२ गते संवैधानिक इजलासमा पुगेको थियो। तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।
सभामुखको मुद्दा हेर्न संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । यसरी मुद्दा सरेको स-यै गर्नाले पीडितहरुको धैर्यको बाँध टुट्न लागेको चर्चा हुन थालेको छ । यद्यपि न्यायालयले पीडितलाई न्याय दिनेमा पीडितहरु विश्वस्त रहेका छन् ।