काठमाडौं । सूरिया ल्याब सिनामंगलको कोभिड १९ परीक्षणको पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका एक सय २२ जना यात्रु विमानस्थलबाट फर्काइएका छन् । सो ल्यावले स्वाव नलिइ रिपोर्ट तयार गर्ने गरेको पाइएपछि हिजो त्यसका सञ्चालकहरु पक्राउ परेका थिए ।
त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको सो ल्यावको पीसीआर रिपोर्टमा नक्कली भएको आशंकामा विमानस्थलबाट फर्काइएको हो। उनीहरु अधिकांश खाडी मुलुकमा जान लागेका व्यक्तिहरु छन् ।
हिजो सूरिया ल्याबमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको थियो । छापा मार्दा ल्याबले स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको खुलेपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको हो ।
सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएपछि प्रहरीले हिजो पक्राउ गरेको थियो ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी कोरोना नेगेटिभको रिपोर्ट दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।
त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति रु नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ ।