काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता भएको छ । सो भेटवार्ता आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
लुम्बिनी प्रदेश सरकारमा जसपाका चार नेता सहभागी भएको भोलिपल्ट जसपाका अध्यक्ष महन्थ ठाकुरले चार शीर्षनेतासहित प्रधानमन्त्री ओलीसँग लामो छलफल गर्नुभएको हो ।
छलफलमा ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीसँगको भेटबारे सांसद कर्णले भन्नुभयो ‘मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भयो । प्रधानमन्त्रीले २/४ दिनभित्रै सबै काम हुन्छ भन्नुभयो । अन्य कुनै सहमति भएको छैन।’
यदि २/४ दिनभित्रै माग पूरा भए ओली सरकारलाई समर्थन गरेर सरकारमा जान सकिने अवस्था बन्ने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ५ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर, तिनै हस्ताक्षरकर्ता समेत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि सरकारविरोधीहरु असफल भएका छन् ।