काठमाडौं । पार्टीको हितविपरीत गतिविधि गर्ने नेकपा एमालेका दर्जनौँ सांसदहरु कारबाहीमा पर्ने भएका छन् । एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको हो । पार्टी स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरणसहितको पत्र आज वितरण गरिदैँ छ ।
‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची राति तयार गरिएको छ,’ पार्टी स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निष्काशन गर्ने तयारी छ ।’
यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँचजना सांसदलाई पनि उस्तै प्रकारको कारबाही हुने भएको छ ।
पार्टीले कारबाहीका लागि तयार गरेका सङ्घीय सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,
पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्री रहनुभएको छ । त्यसैगरी कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई कारबाहीको सूचीमा राखिएको एमालेले जनाएको छ ।
चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निश्कासनसमेत गर्ने तयारी एमालेले गरेको छ ।