काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको बैठकले २० जना नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ।
सो बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सो निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताउनुभयो ।
यी चारैजना नेताले यसअघि दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बित गरिसकिएको छ ।
उहाँहरुबाहेक प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँचजना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।
उहाँका अनुसार ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि वैशाख १० गते बस्ने बैठकबाट कारबाही गरिने जनाइएको छ । उहाँले विधानको प्रावधानअनुसार सफाइ पेस गर्न दिइएको बताउनुभयो ।
गत पुसमा बसेको केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो ।