काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको छ । देउवमा निवास बुढानिलकण्ठमा आइतबार श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभयो । तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा आफू पछि नहट्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताउनुभयो । उहाँले काङ्ग्रेस प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताउनुभयो । उहाँले माओवादी केन्द्रले अहिलेको सरकारबाट समर्थन फिर्ता नलिएकाले सरकार निर्माणको विषयमा अगाडि बढ्न उपयुक्त नभएको बताउनुभयो ।
सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गर्नुभयो ।