सुर्खेत । पार्टीको ह्विप विपरीत फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ ।
वैशाख ३ गतेको प्रदेशसभामा एमालेका नन्दसिं बुढा, अम्मरबहादुर थापा, कुर्मराज शाही र प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको निर्णय विपरीत फ्लोर क्रस गर्दै विश्वासको मत दिनुभएको थियो ।
२०७७ चैत ४ गते बसेको एमाले प्रदेश संसदीय दलको बैठकले माओवादी (केन्द्र) का तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको विश्वासको मत फिर्ता लिएको निर्णय गरेको थियो ।
यसैक्रममा वैशाख ३ गते बसेको प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा पार्टीको ह्विप नमानेर एमालेका चारजना सदस्यहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएकाले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने र पार्टीका कुनै पनि कमिटीमा जिम्मेवारी नरहेको भन्दै एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
तर सांसद प्रकाश ज्वाला भने नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य रहेकोले सोही खालको कारबाही गर्न पार्टीको केन्द्रमा सिफारिस गरेको छ ।