काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मिर्गौलाको शल्य चिकित्साको क्षेत्रमा नमुनायोग्य प्रगति गरेको बताउनुभएको छ ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको नेपाल युरोलोजिकल शल्य चिकित्सक सङ्घको छैटौँ वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ । म विल्कुल स्वस्थ छु र प्रधानमन्त्रीको जस्तो गहन म जिम्मेवारी सम्हाली रहेको छु ।
प्रत्यारोपणपछिका १३ महिना आफू बिना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आफूसँगै दुवै पटकका मिर्गौलादाताहरू समेत स्वस्थ र सक्रिय रहेको पनि उहाँले बताउनुभयो ।
शल्य चिकित्सा करिब २६ सय वर्षअघि नेपालका एक ऋषिले नेपालमै विकास गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसपछि लामो समय अन्तरमा १३ वर्ष अघि फेरि नेपालमा आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मिर्गौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता र त्यसपछि क्रमशः प्रगति भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
पहिलोपटक आफ्नो मिर्गौला प्रत्यारोपण गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उहाँले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
नेपालले पहिलो मिर्गौला प्रत्यारोपण गरेको १३ वर्षमा ठुला उपलब्धिहरू हासिल गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो । सार्क तथा विश्वका अन्य क्षेत्रका चिकित्सकहरूको अनुभव आदानप्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको विचार उहाँको थियो । कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा मिर्गौलासम्बन्धी शल्यक्रियामा लामो योगदान गरे बापत प्राध्यापक डा अर्जुनदेव भट्टलाई जीवनकाल उपलब्धि पुरस्कारबाट सम्मानित गर्नुभएको थियो ।
यसैगरी नेपाल युरोलोजिकल शल्य चिकित्सक सङ्घलाई निरन्तर सहयोग पुर्याउने भारतीय युरोलोजिविद् डा. रवीन्द्र बी साबनिसलाई नेपाल युरोलोजिकल सङ्घको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो ।