काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक वैशाख ६ गते बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न महाधिवेशन आयोजक समितिको बैठक बोलाउनु भएको एक नेताले बताउनु भएको छ ।
यसअघि बसेको केन्द्रीय कमिटीको वैठकले एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
पार्टीभित्र विवाद पनि बढिरहेको छ । अध्यक्ष ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहनु भएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर संगठन निर्माण गरिरहेको छ ।
समानान्तर गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बनको कारबाही गर्नु भएको छ । निलम्वनको अवधिमा पनि पार्टीहित विपरितका गतिविधि गरे कडा कारवाही गर्ने चेतावनी पनि दिइएको छ । तर नेता नेपाल समूहले समानान्तर गतिविधि जारी राखेको छ ।
वैशाख ६ गते बस्ने बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी भएको बुझिएको छ ।