काठमाडौँ । सांसद पद खारेज भएर पुनर्नियुक्ति पाउनुभएका चार मन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शितल निवासमा उहाँहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गर्नुभएको छ ।
माओवादीले दल त्याग गरेका सांसदहरूको पद खारेजीका लागि संसद् सचिवालयलाई पत्र लेखेको थियो । उक्त पत्रअनुसार चारैजनाको सांसद पद बिहीबार खारेज भएको थियो । दलसम्बन्धी ऐनमा एक दलबाट निर्वाचित भएको सांसदले अर्को दलमा प्रवेश गरेमा पद खारेज हुने र त्यसमा अर्को निर्वाचन हुने व्यवस्था छ ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।
भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो भने रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेतिर लाग्नुभएको हो । भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँहरूले फेरि सोही मन्त्रालयको जिम्मेवारी पाउनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।