काठमाडौं । नेकपा माओवादी केन्द्रले आज आफ्ना चारजना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।
प्रतिनिधिसभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको विज्ञप्तिमा लेखिएको छ ।
०७४ सालमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभाको सदस्यमा पदमा उहाँहरु निर्वाचित हुनुभएको थियो ।
पार्टीले कारबाही गरेसँगै उहाँहरु सांसद पदमा रहनुहुने छैन । माओवादी केन्द्रले उहाँहरुलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।