काठमाडौं । नेकपा एमालेका सांसद तथा युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रले विश्वासको फिर्ता लिन नसकेकोमा व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा सम्बोधन गर्दै सांसद बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि प्रचण्ड निरीह बनेको आरोप लगाएका छन् ।
पार्टीमा कार्यकारीको अधिकार प्रयोग गरेर प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागे पनि ओलीको अगाडि उनको केही नलागेको र नलाग्ने सांसद बस्नेतले बताएका छन् ।
संसदको पुनर्स्थापनापछि खुसी भएर प्रचण्ड र माधवकुमार नेपालले एकअर्काले लड्डु खुवाए पनि अहिले अविश्वासको प्रस्ताव ल्याउन समेत नसकेको बस्नेतले बताए ।
द्वन्दकालका मुद्दामा हेग पुर्याउनबाट रोक्न सक्ने र छिमेकी देशका लागि पनि कन्फटेवल प्रधानमन्त्रीको खोजीमा प्रचण्ड रहेको सांसद बस्नेतले बताए ।
कविता वाचनको माध्यमबाट पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले प्रचण्डमाथि गरेको व्यंग्य यस्तो छ :
चुनाव अगाडि गठबन्धन बनाएँ
चुनाव जितेपछि एकीकरण गराएँ
सरकार बनाउँदा आधा कार्यकाल मागेँ
कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें
कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ
संसद विघटन गरी निर्वाचनको घोषणा गर्दा लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ
प्रतिगमन भयो भनेर चिच्याएँ
आन्दोलन गराएँ
मिसन मिडिया चलाएँ
वकिल नागरिक समाज उचालें ।
अदालत गुहारें
निर्वाचन आयोग धाएँ
माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ
सेटिङको हल्ला चलाएँ
संसदीय दलको नेता बनें,
अध्यक्ष घोषणा गरें
११ गतेको फैसलाले मख्ख परें,
लड्डु खाएँ, अवीर दलें
काँग्रेस र जसपाको अफिस धाएँ
नागरिक समाजको डबली धाएँ,
२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ
विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ
अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ
नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ
प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन
अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ
नैतिकताका आधारमा राजीनामा दिनैपर्छ
लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने
प्रधानमन्त्रीको सीट खाली छ,
केपी ओलीका अगाडि मेरो केही लागेन
जसपा मानेन
काँग्रेस जागेन !
धन्यवाद !