काठमाडौं । सरकार तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः बस्ने गरी आजको वार्ता सकिएको हो ।
थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीका अनुसार आजको वार्ता सकारात्मक रुपमा सम्पन्न भएको हो । महामन्त्री चौधरीले यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको जानकारी दिनुभयो । सरकारका वार्ताटोली सदस्यले मागपत्रबारे आज र भोलि अध्ययन गर्ने र पर्सि पुनः वार्तामा बस्ने छलफल भएको उहाँले जानकारी गराउनुभयो ।
गृह मन्त्रालयमा आज दिउँसो दुई पक्षबीच वार्ता भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार बिहान पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।
सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ । थाकसद्वारा गठित वार्ताटोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ ।
वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहनुभएको छ ।