काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरावलोकन गर्न निवेदन दर्ता गर्नुभएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न आज अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरावलोकन निवेदन दर्ता गराउनुभएको हो ।
उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्नुभएको छ ।
उक्त पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ । उक्त विषयमा पुनरावलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ ।