जुबा । सुडानमा भएको घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु सातजना घाइते भएका छन् ।
देशको पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा घटना भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार आइतबार दिउसो १ बजेतिर घटना भएको सञ्चार सचिव अलियन्ड्रो लोटोकले बताउनुभयो । आक्रमणकारीहरू को हुन् भन्ने बारेमा अहिलेसम्म केही पहिचान हुन नसकेको पनि उहाँले जानकारी दिनुभयो ।
मानिसहरू सुतिरहेका बेलामा आक्रमण भएको प्रारम्भिक अध्ययनबाट देखिएको अधिकारीहरूको भनाइ छ । घटनामा परी मृत्यु भएकामध्ये १२ जना महिला र दुई जना बालबालिका रहेका छन् ।
स्थानीय अधिकारीहरूले समेत आक्रमण के कारणले भएको थियो भन्ने बारेमा एकीन हुन नसकेको बताएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूले घटनाको घोर निन्दा समेत गरेका छन् । (रासस/सिन्ह्वा)