काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेता माधवकुमार नेपाल र भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी हितविपरित गतिविधि जारी राखेकाले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको छ । यसअघि उनीहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त नभएकाले अविलम्ब स्पष्टीकरणको जवाफ दिन भनिएको बताइएको छ ।
पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनी स्वरुपको उर्दी गरेपनि नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडे र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएकाले पार्टी विधानको धारा ४९ (ख) बमोजित ६ महिनाका लागि निलम्बन गरिएको बताइएको छ ।
चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेताहरु नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै अध्यक्ष ओलीले उनीहरु कारवाहीको भागिदार भएको बताउनु भएको थियो ।
निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै अध्यक्ष ओली निकट नेताले नेताद्वय नेपाल र रावलले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीबाट निलम्वनको सूचना पाएपछि नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट वार्ता गरेका छन् ।
उनीहरुबीच कोटेश्वरस्थित एक व्यापारीको घरमा भेट भएको बताइएको छ । भेटमा पार्टीले नेता नेपालमाथि गरेको कारवाही, सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनलगायतका विषयमा कुराकानी भएको स्रोतको दावी छ ।