काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो शेयर बाँडफाँट हुने छ । आईपीओ रिजल्ट www.iporesult.cdsc.com.np मा हेर्न सकिने छ ।
फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।
ज्योति लाइफको आईपीओ खरिदका लागि १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आवेदन परेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउँछन् । तसर्थ ज्योति लाइफको आईपिओ खरिदका आवेदन दिनका करिब १२ लाख १० हजार जनाको हात खाली हुने छ ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने बताइएको छ ।