दारेसलाम । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका राष्ट्रपति मगुफुलीको बुधबार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
मगुफुली करिब तीन सातायतादेखि सार्वजनिक रूपमा देखा पर्नुभएको थिएन । यसैकारण पनि उहाँको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न चर्चा परिचर्चा गरिएको थियो । उहाँलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।
तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताहरूले भने उहाँलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ रहेको र जानकारी सञ्चारमाध्यममार्फत् दिनुभएको थियो ।
उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनुभएको छ ।
मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवसरमा उहाँ देशको राष्ट्रपति घोषित हुनुभएको थियो । गत वर्षको चुनावपछि उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।
तान्जानियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अबको बाँकी समय उपराष्ट्रपतिले काम गर्नुहुनेछ ।
(रासस/एएफपी)