काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभएको छ ।
बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय समेत गरेको छ । यससँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ ।
कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य संख्या ४० रहेको छ। जसमध्ये एमालेको मात्र २० सांसद छन्। त्यसमध्ये राजबहादुर शाही सभामुख छन् ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।