काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीको नाममा गुटगत भेला नगर्न एमालेका नेता तथा कार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै यस्तो अपील गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’ उहाँले अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा कसैलाई छुट नहुने भन्दै सहभागीलाई सचेत गराउनुभएको हो । भोलि र पर्सी माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ताको भेला आयोजना गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निमन्त्रणामा नगएर कसको निमन्त्रणामा जाने भन्दै माधव नेपाल–झलनाथ खनाल पक्षसँग प्रश्न गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले अब पार्टीमा विधि विधानविरोधी क्रियाकलाप गर्न छुट नभएको बताउनुभयो । उहाँले पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था नरहने बताउनुभयो ।