काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल सकिएको छ ।
वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । त्यसैगरी चैत ४ र ५ गते माधनव नेपाल पक्षले बोलाएको कार्यकर्ता भेला स्थगित गर्न ओली पक्षको अडान छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता भीम रावलले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताउनुभयो । तर, प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
अध्यक्ष ओली पक्षले भने असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
‘यस्तो भेलाले पार्टी एकतालाई बल पु¥याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले बताउनुभयो ।
छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेलसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतको सहभागिता रहेको थियो ।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओली पक्षले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको थियो ।
ओली निकट सचिव प्रदीप ज्ञवालीका अनुसार २८ फागुनको निर्णयलाई थप सुधार गर्नुपर्ने भए छलफल गर्दै जाऔं भनिएको बताउनुभयो । साथै नेपाल समूहले बोलाएको भेला स्थगित गर्न समेत आग्रह गरिएको उहाँले बताउनुभयो ।
नेपाल समूहले दुवै पक्षले आफूखुसी गरेका सबै गतिविधि स्थगित गर्ने भए आफूहरु तयार रहेको बताएको छ ।