काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता माधवकुमार नेपाल समूहबीच छलफल सुरु भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा ओलीसहित उहाँका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालतर्फ उहाँसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्तको सहभागिता छ ।
चार महिनापछि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएको हो । माधव समूह तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समूहतर्फ लागेर ओली सरकार ढाल्न लागेपछि उनीसँग कात्तिक २५ देखि संवाद टुटेको थियो ।
सर्वोच्च अदालतले एमाले ब्युँताएपछि माधव समूह वाध्य भएर एमालेमा फर्किएको हो । तर उनको समुह पार्टीलाई सुदृढ, मजवुट, सशक्त बनाउँदै देश र जनताको पक्षमा काम गर्ने भन्दा पनि ओलीसँग लडाइ गर्न आएको सन्देश दिइसकेका छन् । यसले पार्टीभित्र थप विवाद निम्त्याएको छ ।
केही दिनअघि मात्रै अध्यक्ष ओलीले नेपाल समूहका केही नेताको जिम्मेवारी खोसेर अरु नेतालाई जिम्मेवारी दिनु भएको थियो । नेपाल समूहले पनि आफ्ना पक्षका पुराना नेताहरुलाई जिम्मेवारी दिएर समानान्तर इन्चार्ज बनाएको छ ।